हाल नेपालमा तीन किसिमका वायुको प्रभाव रहेकाले अधिकांश प्रदेशमा वर्षा भइरहेको छ ।
पश्चिमी र स्थानीय वायुसँगै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म रहेको निम्न चापिय क्षेत्रको समेत प्रभाव रहेको छ,’ महाशाखाले आइतबार बिहान जारी गरेको सूचनामा भनिएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
‘कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी गरी अधिकांश प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ सूचनामा उल्लेख छ ।
आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।