आशनान्द यादव।
लाहान । सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। गृह मन्त्रालयले सोमबार दाहाललाई फिर्ता बोलाइएको छ। उनको स्थानमा दुई दिनअघि कपिलवस्तुबाट मन्त्रालय सरुवा गरिएका विश्व प्रकाश अर्याललाई पठाएको छ।
गृह प्रशासन स्रोतका अनुसार, सिराहामा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको भन्दै प्रजिअलाई मन्त्रालय तानिएको हो। ‘स्थानीय तहसँग कुनै समन्वय नगरेको र मन्त्रालयलाई पनि जानकारी नगराएको पाइएपछि प्रजिअ लाई फिर्ता बोलाइएको छ,’ स्रोतले भन्यो।
प्रजिअ सँगै जिल्ला प्रहरी प्रमुखलाई पनि फिर्ता बोलाउने तयारी भइरहेको मन्त्रालय प्रशासन स्रोतले जनाएको छ।
प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण भएपछि।
सिरहाको औरही गाउँपालिका–५ मा महा यज्ञ आयोजना गर्न भन्दै दलित परिवारको घर भत्काइएको विषय संसद सम्म पुगेपछि प्रजिअ लाई फिर्ता बोलाइएको हो।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समय लिएर उक्त विषय उठाएको थियो। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दलित समुदायमाथि भइरहेका हत्या, हिंसा तथा विभेदका घटनाका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नदिने भन्दै सिराहाको औरही–५ का दीपक मलिक डोमको घर गाउँपालिका अध्यक्ष शिवजी यादव सहितको संलग्नतामा गाउँपालिकाकै डोजर प्रयोग गरी भत्काइएको थियो।