विवेक परियार
लहान, चैत्र/०८ सिरहाको औरहि पालिकामा महायज्ञको नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा पालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलीप यादवलाई प्रहरी पक्राउ गरेको छ।
उनीहरूलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिएका हुन। उनीहरूसित सोधपुछ गर्ने काम भइरहेको र शनिबार पीडित परिवारसँग जाहेरी लिने उनले बताएको हो।
महायज्ञ आयोजना गर्नको लागि औरहीपालिका –५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो । आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न नमिल्ने भनेपछि दीपकको घर भत्काउन पालिका अध्यक्षले आदेश दिएका थिए। त्यसपछि पालिका अध्यक्ष शिवजी यादवकै निर्देशनमा डोजर पठाएर घर भत्काइएको थियो।दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको थियो।