पुनिता साह यादव,
कार्तिक/२२ जनकपुरधाम।मधेश प्रदेश सभाको बैठकमा आज असामान्य दृश्य देखियो । प्रदेशसभा सदस्य रहबार अन्सारीले सभामै आफैंको अनुहारमा कालो मोसो पोत्दै जनताको पीडा र आक्रोशको प्रतीकात्मक प्रदर्शन गरे।सांसद अन्सारीले भने, “हामी जनताको सेवक भएर यहाँ आएका थियौं, तर जनताको अपेक्षा पूरा गर्न सकेनौं।
जनताले हामीलाई कालो मोसो पोत्नु पर्ने अवस्था छ, तर पोत्न सकिरहेका छैनन्। त्यसैले म आफैंले आफैंलाई कालो मोसो पोत्दै जनताको क्रोधको प्रतिनिधित्व गर्छु।”
उनीको यो कदमले सभामा उपस्थित सांसदहरूलाई स्तब्ध तुल्यायो भने बाहिर युवा र सर्वसाधारणबीच मिश्रित प्रतिक्रिया देखियो । सामाजिक सञ्जालमा यो घटनालाई धेरैले “युवा विद्रोहको सुरुवात” र “जनताको आवाज बोल्ने साहसिक कदम” का रूपमा व्याख्या गरेका छन् ।
अन्सारीले भने, यो मोसो व्यक्तिगत होइन, यो शासनप्रणाली, भ्रष्टाचार, बेवास्ता र असमानतामाथिको कालो दाग हो।”
मधेश प्रदेशका युवाहरूले भनेका छन्, अब सांसदहरूले जनताको मर्म बुझ्नुपर्छ, नत्र सडकबाट आवाज उठाउन बाध्य हुनेछन् ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, रहबार अन्सारीको यो प्रतीकात्मक कदमले मधेशको नयाँ राजनीतिक चेतना र युवा पुस्ताको असन्तुष्टिलाई स्पष्ट रूपमा उजागर गरेको छ ।