चन्द्रदिप यादव।
सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ परेका छन्। मौनअवधिका बेला उनी नगद रकमसहित नियन्त्रणमा परेका हुन्।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।