रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली

Terai Madesh Khawar

News: चन्द्रदिप यादव

बिज्ञापन

 

मधेशकी छोरी एवं सांसद रुवीकुमारी ठाकुर सङ्घीय संसद्को उपसभामुखमा निर्वाचित भएपछि उहाँको परिवार तथा गाउँमा खुसियाली छाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाकी २५ वर्षीया सांसद ठाकुर उपसभामुखजस्तो गरिमामय पदमा पुगेकामा गाउँलेहरूले यसलाई गौरवको विषय मानेका छन् । श्रम संस्कृति पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका रूपमा चयन भएकी ठाकुर छोटो समयमै महत्वपूर्ण पदमा पुग्न सफल भएकी हुन् । उहाँको यो सफलता गाउँका अन्य युवा तथा महिलाका लागि प्रेरणास्रोत बनेको छ ।

रुवीका बुवा सोगारथ ठाकुर छोरीको सफलताको खुसी साट्न साढे तीन वर्षपछि वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किनुभएको छ । विगत २० वर्षदेखि साउदी अरबमा श्रम गर्दै आएका उहाँले छोरीको उपलब्धिप्रति गर्व व्यक्त गर्दै भन्नुभयो, “मेरी छोरी सांसद र उपसभामुख बन्छे भनेर कहिल्यै सोचेको थिइनँ । छोरीलाई भेट्नकै लागि विशेष बिदामा आएको हुँ ।” उहाँले छोरीलाई देश र जनताको हितमा निष्ठापूर्वक काम गर्न सुझावसमेत दिनुभयो ।

सांसद रुवीकी आमा रेनुदेवी ठाकुरले छोरीको सफलतामा आफ्नो वर्षौँदेखिको सङ्घर्ष सफल भएको बताउनुभयो । “छोरीलाई पढाउँदा धेरैले आलोचना गरेका थिए, तर आज उसको सफलताले सबैको मुख बन्द गरिदिएको छ,” उहाँले भावुक हुँदै भन्नुभयो । उहाँले छोरीले देशका लागि उत्कृष्ट काम गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

रुवी दुई महिनाकी छँदा नै उहाँका बुवा वैदेशिक रोजगारीमा जानुभएको थियो । बुवा परदेशमा हुँदा पारिवारिक जिम्मेवारी र छोरीको शिक्षादीक्षामा आमाले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । अहिले छोरीको यो उपलब्धिले परिवार मात्र होइन, सम्पूर्ण गाउँलाई नै गौरवान्वित बनाएको छ ।

उहाँको सफलतापछि मुजेलिया गाउँमा उत्सवको वातावरण बनेको छ । आफन्त, छिमेकी तथा शुभेच्छुकहरू उहाँको घरमा भेला भई बधाई तथा शुभकामना दिइरहेका छन् । स्थानीय मनोजकुमार राउतका अनुसार सांसद रुवी ठाकुरको सफलता मधेश क्षेत्रका महिला तथा युवाका लागि एक प्रेरक उदाहरण बनेको छ । सामान्य परिवारबाट उठेर देशको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने स्थानमा पुग्नु सम्पूर्ण समुदायकै लागि गर्वको विषय भएको उहाँले बताउनुभयो ।

ताजा समाचार

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

दाइजो हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो जुड़शितल : पानीको स्पर्शसँगै आशीर्वाद र संस्कृतिको गहिरो सन्देश