प्रधानमन्त्री तथा हिपहप गायक बालेन्द्र शाह (बालेन) सँग सम्बन्धित १२ वर्ष पुरानो गीतबारे प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ।
उक्त गीत हिपहप ब्याटल ‘रअ बार्ज’मा प्रस्तुत गरिएको थियो, जसलाई ‘सङ्स नेपाल’ लगायतका युट्युब च्यानलहरूले अपलोड गरेका छन्। उजुरीकर्ताहरूले सो भिडियोमा प्रयोग भएका शब्दहरू महिला विरोधी, अपमानजनक तथा यौनिक र लैंगिक अल्पसंख्यक समुदायविरुद्ध घृणा फैलाउने खालको रहेको दाबी गर्दै युट्युबबाट हटाउन माग गरेका छन्।
विवेक मगर, रोजी पुन, महिन्द्रसिंह दनुवार र पवन राई (बाबु) ले संयुक्त रूपमा दायर गरेको उजुरीमा करिब २० मिनेट १४ सेकेन्ड लामो भिडियोको लिङ्कसमेत समावेश गरिएको छ। उजुरीमा स्पष्ट रूपमा उक्त सामग्रीले सामाजिक रूपमा संवेदनशील समुदायप्रति नकारात्मक असर पार्ने उल्लेख गरिएको छ।
साइबर ब्यूरोले उजुरी दर्ता भएको पुष्टि गर्दै यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।