News: Chandradip Yadav
११ जेठ, सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ को जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गर्दै प्रदर्शन गरेका छन् ।
छोटी भन्सार खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै उनीहरूले सडक अवरुद्ध पारेर विरोध जनाएका हुन् ।
नेपाल सरकारले २१ वैशाख २०८३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।
यसअघि पनि उनीहरूले २५ वैशाखदेखि २७ वैशाखसम्म चरणबद्ध आन्दोलन गरेका थिए । स्थानीयले भन्सार कार्यालय बन्द हुँदा व्यापार व्यवसाय तथा दैनिक आवतजावतमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।