बिबेक परियार,

मङ्सिर/४ लहान। सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तिपुरदेखि उत्तर चुरेको मुटुमा रहेको सम्भावित खेल मैदान स्थलको आज क्षेत्रीय अनुगमन गरिएको छ। अनुगमन टोलीमा मधेस प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य निशेष श्रेष्ठ तथा युनाइटेड स्पोर्ट्स क्लबका अध्यक्ष अञ्जनि राई सहभागी रहेको क्लबले जानकारी दिएको छ।

अनुगमनका क्रममा बोर्ड सदस्य निशेष श्रेष्ठले मधेस प्रदेश सरकारले गाउँ–सहरमा खेलकुद पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको बताउँदै उक्त क्षेत्रलाई व्यवस्थित खेल मैदानका रूपमा विकास गर्न आवश्यक पहल अघि बढाइने प्रतिवद्धता व्यक्त गरे।

युनाइटेड स्पोर्ट्स क्लबका अध्यक्ष अञ्जनि राईले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धनका लागि मैदान निर्माण अपरिहार्य भएको उल्लेख गर्दै क्लब निरन्तर सक्रिय रहने बताए। उनले स्थानीय युवाहरूको सहभागिता र खेलप्रतिबद्धता हेर्दा यस क्षेत्रलाई भविष्यमै महत्वपूर्ण खेलस्थलका रूपमा विकास गर्न सकिने सम्भावना धेरै रहेको बताएका छन्।
स्थानीय बासिन्दा तथा खेलप्रेमीहरूले पनि उक्त अनुगमनलाई सकारात्मक रूपमा स्वागत गर्दै मैदान विकास रोकिएको कार्य छिट्टै सुरू हुने अपेक्षा व्यक्त गरेका छन्।