बिबेक परियार,

मङ्सिर /०८/१० लहान। सिरहाको सखुवानन्कारकट्टि गाउँपालिका–१ र २ जोडने सोठियाइनको सिमाना कटनियामा विगत २२ वर्षदेखि लाग्दै आएको परम्परागत विवाह पञ्चमी मेला अन्तर्गत यस वर्ष पनि दोस्रो दिन भव्य पहलवानी प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता वडा नं. २ का वडा अध्यक्ष तनुक लाल यादवले गरेका थिए भने प्रमुख आतिथ्य नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले प्रदान गरेका थिए। उदघाटनका क्रममा प्रमुख अतिथि यादवले सांस्कृतिक तथा खेलकुद गतिविधिले समाजमा ऐक्यबद्धता र सद्भाव बढाउने बताए।
यस वर्षको पहलवानीमा भारत र नेपालका नामचिन पहलवानहरू सहभागी भएका थिए। दुवै देशका खेलाडीबीच रोचक प्रतिस्पर्धा देखिएको थियो, जसले मेलाको माहोल झनै उत्साहपूर्ण बनेको स्थानीयहरुले बताए।
मेलामा दैनिक ठूलो संख्यामा भक्तजन, दर्शक तथा स्थानीयवासीहरूको उपस्थितिले कटनिया क्षेत्र झनै गुलजार बनेको छ। मेला आयोजक समितिले आगामी दिनहरूमा अन्य सांस्कृतिक कार्यक्रमहरू पनि निरन्तर रहने जानकारी दिएको छ।