बिबेक परियार
मङ्सिर/१७ वुधवार

सिराहा, लहान — चुरे उत्थानशील आयोजना अन्तर्गत पारिवारिक निजी वन संघ नेपालको आयोजनामा “निजी वन सञ्चालन सशक्तिकरण तथा नदि प्रणाली तह कार्यशाला गोष्ठी” लहान नगरपालिका–स्थित माखभोग होटलको सभाहलमा सम्पन्न भएको छ। गोष्ठीमा निजी वन व्यवस्थापन, संरक्षण तथा चुरे क्षेत्रका चुनौती र समाधानबारे विषयगत प्रस्तुति तथा खुला छलफल गरिएको संघले जनाएको छ।

कार्यक्रमको अध्यक्षता पारिवारिक निजी वन संघ नेपाल सिराहाका अध्यक्ष रविन शेन लामाले गर्नु भएको थियो। कार्यक्रममा संघका राष्ट्रिय अध्यक्ष जोक राज गिरी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। साथै विभिन्न स्थानीय तहका जनप्रतिनिधि, वन प्राविधिक, किसान तथा सरोकारवालाको सहभागिता रहेको संघले जनाएको छ।

प्रमुख अतिथि गिरीले लहान नगरपालिकासँग भएको समन्वयमा अपेक्षित सहयोग नदेखिएको भन्दै नगरप्रमुख महेश चौधरी प्रति टिप्पणी गर्नुभयो। उहाँले, “पत्र काटेर बारम्बार जानकारी गरायौँ, छलफल तथा समन्वयका लागि अनुरोध गरिरह्यौँ, तर नगरप्रमुख कार्यक्रममै उपस्थित हुनुभएन। किसानको कार्यक्रममा आउनु हुन्न भने कसका लागि काम गर्ने?” भन्दै नगरप्रमुख चौधरीको भूमिका प्रति असन्तुष्टि व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष रविन शेन लामाले चुरे संरक्षण, निजी वनको दिगो व्यवस्थापन तथा किसानको हकहितलाई प्राथमिकतामा राख्दै संघ निरन्तर क्रियाशील रहेको बताउनुभयो। निजी वनमार्फत रोजगारी, आय–आर्जन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सकिने भएकाले सबै पक्षको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा विषयगत विशेषज्ञहरूले निजी वन दर्ता, व्यवस्थापन, निति–नियम, चुरे उत्थानशील कार्यक्रमका उपलब्धि तथा चुनौतीबारे विस्तृत जानकारी प्रदान गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संघले जानकारी दिएको छ।