बिबेक परियार
मङ्सिर /१९

सिरहा जिल्लाको लहान–६ मा रहेको हिमालयन विद्या निकेतन स्कुलको आयोजनामा ४ औँ सांस्कृतिक पोशाक तथा खाद्य महोत्सव आज एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता अमृत लाल चौधरीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा पूर्व मेयर प्रकाश केसीको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथि पशुपति भट्ट, सञ्चारकर्मी आश नन्द यादव, महेश सिंह, प्रदीप सिंह सहित शिक्षक–शिक्षिका तथा अभिभावकको गरिमामय सहभागिताले कार्यक्रमलाई अझै भव्य बनाएको थियो।

महोत्सवमा स्कुलका शिक्षिकाहरू आफ्ना परम्परागत सांस्कृतिक वेशभूषामा सजिएर उपस्थित भएका थिए। विद्यार्थी नानी–बाबुले विभिन्न सांस्कृतिक परिकार र पकवानहरू तयार पारेर प्रदर्शन गरेका थिए, जसले कार्यक्रमको आकर्षणलाई थप बढाएको थियो।




आयोजकका अनुसार महोत्सवको उद्देश्य केवल परिकार र पोशाकको प्रदर्शन मात्र नभई ‘सयौं थुङ्गा फूलका हामी’ भन्ने नेपाली पहिचानलाई प्रतिविम्बित गर्दै सबै जात–जाति तथा भाषा–भाषीबीच एकता, सद्भाव र सांस्कृतिक समन्वयलाई प्रवर्द्धन गर्ने रहेको छ।
कार्यक्रमले विद्यालय समुदायमा सांस्कृतिक विविधता, परम्परा र आपसी एकताको सुन्दर संदेश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।