बिबेक परियार
मङ्सिर/२५

सिरहाको मिर्चैयामा अवस्थित स्वस्तिक पाठशालामा यस वर्ष २०८२ खेलकुद महोत्सव विशेष समारोहका बीच भव्य रूपमा शुभारम्भ गरिएको छ। विद्यालयका प्रधानाध्यापक लक्ष्मण गिरिको सभाध्यक्षता तथा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मधेस खेलकुद परिषद् सदस्य निशेष श्रेष्ठ, जिल्ला खेलकुद विकास समन्वय समिति अध्यक्ष श्रवण ठकुरी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय गौरवशाली अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो।
महोत्सवको सुरुवात मिर्चैया थाना चोकबाट मशाल प्रज्वलन गर्दै गरिएको थियो। विद्यार्थीहरूको आकर्षक मार्च पासमा मशाल स्वस्तिक पाठशालाको प्राङ्गणसम्म ल्याइयो र सोही मशालद्वारा अग्नि प्रज्वलन गरी औपचारिक रूपमा खेलकुद महोत्सव आरम्भ गरिएको हो।
आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य
- स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन,
- नेतृत्व विकास, र
- विद्यार्थीको चौतर्फी प्रतिभा अभिवृद्धि
गर्नु रहेको छ।
स्वस्तिक पाठशालाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव यस वर्ष पनि उत्साह, उमंग र विद्यार्थीहरूको सक्रिय सहभागितासहित प्रारम्भ भएको विद्यालय प्रशासनले जनाएको छ।