News: चन्द्रदिप यादव
सिरहाको लहानमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध पूर्व–पश्चिम राजमार्ग करिब ५ घण्टापछि पुनः सञ्चालनमा आएको छ।
कमला–कञ्चनपुर सडक विस्तारमा भएको ढिलाइ तथा धुलो–धुवाँको समस्याविरुद्ध स्थानीयवासीले शुक्रबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए, जसका कारण करिब ५ किलोमिटरसम्म सवारी जाम भई सयौँ सवारीसाधन रोकिएका थिए भने यात्रुहरू घण्टौँ अलपत्र परेका थिए।
जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा सुरक्षा समितिको आकस्मिक बैठक बसेपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा निर्माण कम्पनी र आन्दोलनकारीबीच सहमति जुटेको हो।
सहमतिअनुसार निर्माण कम्पनीले तत्काल धुलो नियन्त्रणका लागि पानी हाल्ने र १५ तारिखदेखि नियमित रूपमा निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाएको छ।
उक्त सडक आयोजना सन् २०२० मा सुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म प्रगति सन्तोषजनक नभएको स्थानीयको गुनासो छ।