News: Ashanand Yadav
सिराहा। नेकपा जिल्ला कमिटी सिराहाले सिराहा नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि नगर प्रमुखले कुटपिट गरेको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ।
पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ साल चैत २२ गते बिहान करिब ९ बजे सिराहा नगरपालिका वडा नं. १४ निवासी रामशरण यादव कार्यालयमा हाजिर हुन गइरहेका बेला नगर प्रमुख डा. नवीन कुमार यादवले कुटपिट गरेको आरोप लगाइएको छ।
घटनापछि कार्यालय सहयोगी यादव घाइते भई हाल विराटनगरमा उपचाररत रहेको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गरेको छ। साथै घाइते यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको विरोधमा आन्दोलनरत कर्मचारीहरूप्रति ऐक्यबद्धता जनाएको छ।